logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चुनाव हाेइन्, जाेखिम माेलेरै क्रान्ति पूरा गर्छाै : हेमन्त प्रकाश ओली ‘सुदर्शन’


  • राजनीति
  • शुक्रबार, चैत्र २५ २०७८

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टीको १२ औँ बैठकले चुनावमा नजाने निर्णय गरे पनि कोही चुनावमा गएमा त्यो पार्टीको निर्णयविपरीत कार्य हुने बताएका छन् । ३३ औँ जनआन्दोलन दिवसका अवसरमा प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ र नेकपाका संस्थापक पुष्पलालको जन्मस्थल भँगेरीमा दुई लाल –पुष्पलाल–गङ्गालाल) को सालिक अनावरण गर्दै नेकपा नेता सुदर्शनले पार्टीको निर्णयविरुद्ध कोही पनि जान नमिल्ने बताएका हुन् ।

पार्टी महासचिवको चुनावको उपयोग गर्ने प्रस्तावमाथि कपिलवस्तुको १२ औँ बैठकमा छलफल हुँदा प्रस्तावमा ल्याइएका बुँदा परिमार्जन गरी चुनावको बाटो हिँडेर समाजवादमा पुग्न सक्तैनौँ भन्ने निष्कर्ष निकालेरै महासचिवसहित समाजवादको बाटो हिँड्ने निर्णय भएको पनि उनले बताए । ‘समाजवादको बाटो छोड्ने प्रचण्ड–बाबुरामहरुसँग २०६९ सालमा गरेको विद्रोह, त्यसपछि २०७१ सालमा मोहन वैद्यहरुसँगको विद्रोह चुनावका लागि नभएर समाजवादको बाटोमा अघि बढ्ने निर्णय थियो’, उनले भने, ‘३ बुँदे सहमति लागू भएको छैन । हामीमाथि मुद्दा कायमै छन् । पचासौँ कमरेड जेलमै हुनुहुन्छ । यस्तो अवस्थामा पार्टी दर्ता गर्नु हुँदैन । चुनावमा जानु हुँदैन । केन्द्रीय सदस्य, पार्टी सचिव, जिल्ला सदस्य चुनावमा जानु हुँदैन । कोही राष्ट्रवादी भएमा समर्थन गर्न सकिने निर्णय भएको छ ।’

उनले अघि भने, ‘हाम्रै पार्टीका कोही नेता पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध निर्वाचन आयोगमा गएको भन्ने सुनिँदैछ । यो राम्रो समाचार होइन ।’

नेकपा नेता सुदर्शनले कम्युनिस्ट आन्दोलनलाई नयाँ बाटो दिनुपर्ने पनि बताए । उनले भने, ‘वैचारिकभन्दा भावनामा अघि बढ्यौँ भने आन्दोलन अन्योलमा पर्छ ।’ पार्टीका क्रान्तिकारी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हामी तपाईंहरुको मुक्तियात्रामा अवरोध खडा हुन दिनेछैनौँ । ज्यान जोखिममा राखेर भए पनि क्रान्ति पूरा गरेरै छोड्नेछौँ ।’

नेता सुदर्शनले पुष्पलाल–गङ्गालालका सपना पूरा गर्न क्रान्ति पूरा गर्नुपर्ने धारणा पनि राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार