logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुन्दरी प्रतियोगिताको तत्कालै बन्द गर्न चेतावनी


  • राजनीति
  • आइतबार, जेष्ठ २९ २०७९

नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले महिला हिंसा, हत्या र बलात्कारलाई प्रोत्साहन दिने सुन्दरी प्रतियोगिता नगराउन, सहभागी नबन्न र तत्काल खारेज गर्न चेतावनीपूर्ण आग्रह गरेकाछ्न । अखिल (क्रान्तिकारी) का केन्द्रिय संयोजक मिलन राई आयोजक समक्ष ज्ञापनपत्र बुझाएको छ भने अखिल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिकी संयोजक अञ्जना गुरुङले छुट्टै विज्ञप्ति जारी गरी यही असार ४ गते हुन लागेको सुन्दरी प्रतियोगिताको घोर भत्सर्ना गर्दै त्यसलाई बन्द र खारेजीको माग गरेकाछन ।

अखिल क्रान्तिकारी द्धारा बुझाइएको ज्ञापनपत्र श्री प्रमुख ज्यु,
हिडन ट्रेजर नेपाल, काठमाडौं
विषय:ज्ञापनपत्र
हाम्रो समाजमा सदियौंदेखि महिलाले अत्याचार, चरम विभेद सहदै आएका छन् । महिलाको चेताना, विचार र क्षमतालाई बेवास्ता गर्ने र महिला शारीरिक रुपमा सुन्दर र कामुक हुनुपर्ने गलत चिन्तनको मनोविज्ञान हाम्रो समाजमा विद्यमान छ। गलत सौर्न्दर्य चेतका कारण महिला माथि शारीरिक र मानसिक रुपमा हिंसा हुनेगरेको पर्याप्त उदाहरणहरु छन् ।
आजको भूमण्डलीकृत पुँजीवादले महिलालाई आफ्नो व्यवसायक‍ो विज्ञापनको प्रमुख साधनको रुपमा प्रयोग गरिरहेको छ। आम्दानी र मुनाफाको प्रलोभनमा पारि महिलाको वस्तुकरण गरेको छ। ठुला ठुला कम्पनीको विज्ञापनको लागि शारीरिक रुपमा सुन्दर र आकर्षक अनुहार, जिउडाल भएका महिलाहरुको खोजी गरिन्छ । महिलाको शरिरको बजारीकरणका लागि ‘स्वतन्त्रता’ ‘महिला सशक्तीकरण’ ब्युटि विथ ब्रेन’ को नाममा पुजीवादद्वारा सृजित ‘कथित सुन्दरी प्रतियोगिता ‘आयोजना गरिन्छ । जहाँ महिलाको नितम्ब, आखा, कम्मर, नाक, मुख, ओठ, अनुहारको साइज आदि नापिन्छ र एउटा नारिलाई विशिष्ट र अर्कोलाई कमसल घोषणा गरिन्छ। प्रतियोगितामा अनेक चलखेल हुने गरेको र विजेता बनाइदिने प्रलोभनमा पारेर या त ब्ल्याकमेलिङ गरेर यौन शोषण समेत हुनेगरेको विषय भर्खरै सञ्चार माध्यममा आएको घटनाले पुष्टि गर्दछ।साथै विगतमा कथित सुन्दरी प्रतियोगितामा सहभागी कतिपय प्रतियोगिहरुको अन्तर्वार्ताले समेत थप पुष्टि गर्दछ।
शारीरिक सुन्दरतालाई प्राथमिकता दिने कथित सुन्दरी प्रतियोगिता सौर्न्दर्य सम्बन्धि गलत चिन्तनको उपज हो। जसले महिला हिंसालाई प्रसय गरिरहेको छ । यस्ता प्रतियोगिताले समाजमा सौन्दर्य सम्बन्धि गलत भाष्य निर्माण गर्दछ, तसर्थ यो समाजको लागि हानिकारक छ। समाजमा समनता कायम गर्दै शान्ति सुव्यवस्था कायम गराउनु तपाईं हामी सबैको दायित्व हो , तसर्थ तपाईंको संस्थाको आयोजनामा भइरहेको कथित सुन्दरी प्रतियोगिता बन्द गर्न र भविष्यमा समेत यस्ता प्रतियोगिता आयोजना नगर्न हामी विशेष अनुरोध गर्दैछौं । अन्यथा निर्मम संघर्षको विकल्प हामीसंग हुनेछैन।
क्रान्तिकारी अभिवादन सहित !
प्रमुख
नताशा सुवेदी
छात्रा विभाग

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली महिलाहरूले पितृसत्तात्मक पुँजीवादी व्यवस्थाबाट शोषण, उत्पीडन, हिंसा, हत्या, बलात्कारका कहालीलाग्दा पीडा भोगिरहेका छन् । महिला हिंसा, हत्या, शोषण, उत्पीडनका विरुद्ध आन्दोलनहरू भए तर महिलाका समस्याहरू जस्ताका तस्तै छन् । हाम्रो देशमा अहिले दलाल संसदीय व्यवस्था छ । पुँजीवादले महिलालाई आफ्नो कारखानामा उत्पादित माल बिकाउनका लागि प्रयोग गर्दछ । महिलाको दाँत, आँखा, नितम्ब, छाती, कम्मर, बोली, हाउभाउजस्ता शारीरिक अङ्गहरूका आधारमा प्रतिस्पर्धा गराएर सुन्दरी प्रतियोगिता गर्नु भनेको महिलालाई वस्तुका रूपमा बुझ्नु हो । हाम्रो देशको मौलिक सौन्दर्य, श्रम र मेहनतलाई बेकम्मा बनाएर पश्चिमा, खोक्रो, इतिहासबिनाको प्लास्टिक सुन्दरतालाई स्थापित गराउन बहुराष्ट्रिय कम्पनीको स्वार्थ पूरा गर्न दलाल संसदीय व्यवस्था लागिपरेको छ । पुँजीपतिहरूको सामान बिक्रीको साधन बन्दा व्यक्तित्व विकास भएको देख्ने र आफ्नो मानवीय मूल्य आफ्नो यौन आकर्षण एवम् बाहिरी अनुहारमा छ भनेर घोषणा गर्ने प्रतियोगितालाई कसरी सुन्दरी भन्न सकिन्छ ? यो त साम्राज्यवादले संसारभरि फैलाएको सांस्कृतिक अतिक्रमण हो ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शारीरिक श्रम नगरेका, अनुभवहीन, हातमा ठेला नउठेका, दुःख नपाएका, पाउडर र लिपिस्टिकले छाला छोपेका, बच्चा नजन्माएका उन्मत्त यौवन भएका नारी सुन्दर हुन्छन् भन्ने चिन्तन आफैँमा कुरूप र विकृत चिन्तन हो । यो उपभोक्तावादी चिन्तन हो । सुन्दरी प्रतियोगिताले महिलाका जल्दाबल्दा समस्याहरूबाट ध्यान अन्तै विकेन्द्रित गर्ने, महिलाको सङ्घर्षशील चेतनालाई मत्थर पार्ने, वर्गीय चेतनालाई नष्ट गर्ने, सामूहिक भावनालाई नष्ट गरी व्यक्ति–व्यक्तिबीच शत्रुतापूर्ण प्रतिस्पर्धाको भावना जगाउने काम गरेको छ । पुँजीवादले ल्याएको आर्थिक विलासिता, श्रमजीवीको शोषण गर्ने, विकृत बनाउने वातावरण सुन्दरी प्रतियोगिताले तयार गरेको छ । यसले महिला हिंसा, हत्या र बालात्कारलाई प्रोत्साहन दिएको छ । त्यसैले महिलालाई मालका रूपमा बुझ्ने यस्तो सुन्दरी प्रतियोगितामा सहभागी नहुन सम्पूर्ण महिलाहरूलाई अनुरोध गर्दछौँ । आयोजकलाई सुन्दरी प्रतियोगिता कार्यक्रम नगर्न हाम्रो सङ्गठन जोडदार अनुरोध गर्दछ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार