राजनीति
नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले अमेरिकी साम्राज्यवादी हस्तक्षेपको कडा प्रतिवाद गर्न आह्वान गरेको छ । क्रान्तिकारीका केन्द्रीय संयोजक मिलन राईले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका जर्नेल चाल्र्स एन्थोनी फिलिनले नेपालको विशेष भ्रमणका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गरी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को १० बुँदे राष्ट्रघाती सम्झौता प्रस्ताव गरेको विषयले अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संयोजक राईले विज्ञप्तिमा भनेका छन्, ‘एसपीपी सम्झौतामा भएको दफा र पछिल्ला घटनाक्रमले राष्ट्रघाती MCC सम्झौतामार्फत नेपाललाई हिन्द–प्रशान्त रणनीतिको अङ्ग बनाएको पुष्टि गर्दछ । यसले नेपालको सार्वभौमिकता, पञ्चशीलको सिद्धान्तलगायत नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्धमा धावा बोलेको छ । चीन र भारतजस्ता विशाल मुलुकका बीचमा अवस्थित हाम्रो नेपालका लागि यो सर्वाधिक घातक छ । यसप्रकारको अमेरिकी हस्तक्षेप र षड्यन्त्रको अखिल (क्रान्तिकारी) घोर विरोध र भत्र्सना गर्दछ ।’