logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डलाई ओलीकाे फाेन : ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न षड्यन्त्र हुदैछ अब मिलेर जाउ’


  • राजनीति
  • बिहिबार, मंसिर ८ २०७९

एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’  प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए ।

ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध  टेलिफोन वार्ता भएको पुष्टि गरे । ‘ओलीले फोन गर्नुभयो, मिलेर केही गरौं भन्ने कुरा भएको छ, तर के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने, ‘एमालेका अरु पनि शीर्ष नेताले अध्यक्षलाई फोन गरिराख्नुभएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार