राजनीति
केही समय अघि नेकपा एमालेमा विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा मंसिर ४ को निर्वाचन नतिजापछि आगामी यात्राबारे दुई मत देखिएको छ । अपेक्षाकृत निर्वाचन नतिजा नआएपछि स्पष्ट ढंगले पार्टीको आगामी यात्रा तय गर्नुपर्ने केही नेताको बुझाइ छ भने केही नेताहरु तत्तकाल गठबन्धन गरेरै अगाडि बढ्न उपयुक्त हुने बताइरहेका छन् ।
‘हामी नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्छ भन्ने कुरामा एकमत छौ, तर अहिले नै हामी एकता प्रक्रियामा गएका छैनौँ भन्ने हो’ भुसालको भनाइ छ । उनले निर्वाचन अघि पार्टी एकताका लागि वार्ता कमिटी गठन गर्ने भनिएपनि त्यस्तो कमिटी समेत गठबन्धन नभएको बताए ।
‘पार्टी एकताका लागि दुवै पार्टीबाट सम्मिलित पार्टी एकता संयोजन समिति बनाउने भनिएको हो तर त्यस्तो कमिटी गठन गरिसकेको अवस्था होइन’, भुसालको भनाइ छ । सम्मानित नेता झलनाथ खनाल पनि तत्काल पार्टी एकता सम्भव नभएको बताउँछन् ।
‘भर्खर निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको समग्र समीक्षा भएको छैन, अहिले हतारहतारमा के को एकता ?’, खनालले भने, ‘पार्टीको विचार, सिद्धान्त, संगठन, निर्वाचन परिणामलगायत समग्रमा रिभ्यु गरिन्छ ।’ नेता खनालले त्यसपछि आवस्यकता अनुसार पार्टी निर्णय गरेर अघि बढ्न सकिने बताए ।
नेकपा एकीकृत साजवादीले निर्वाचनको समग्र समिक्षाका लागि मंसिर २५ गतेभित्र जिल्ला र प्रदेश कमिटीहरुलाई केन्द्रमा रिपोर्ट पठाउन निर्देशन दिएको छ । ‘हामीले मंसिर २५ भित्र रिपोर्ट पठाउन पार्टी कमिटीलाई भनेका छौ । सो समयमा देशभरको रिपोर्ट आयो भने तत्काल बैठक बसेर समीक्षा हुन्छ’, महासचिव भुसालको भनाइ छ ।
तर, नेता मुकुन्द न्यौपाने, उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । उनीहरु एमाले वा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । केही दिन अघिमात्रै सचिव रामकुमारी झाँक्रीले एमाले नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँग बसेको तस्वीर नै सार्वजनिक गर्दै उक्त तस्विरमा सन्देश रहेको बताएकी थिइन् ।
सचिव झाँक्री गुल्मी २ मा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रहेपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । झाँक्रीमात्रै होइन सम्मानित नेता झलनाथ खनाल र उपमहासचिव जगन्नाथ खतिवडाले पनि यो निर्वाचनमा पराजय भोगेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका १९ उम्मेदवारमध्ये १० जनामात्रै निर्वाचित भएका छन् ।