logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरी असई हत्याका अभियुक्त एमालेबाट सांसद


  • राजनीति
  • शनिबार, मंसिर २४ २०७९

महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए, लक्ष्मी महतो कोइरी । तर, नेकपा (एमाले)बाट निर्वाचित कोइरीको सिंहदरबार यात्रा अरू सांसदलाई जस्तो सजिलो छैन । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मङ्सिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।

उच्च अदालतको आदेश उनको सिंहदरबार यात्रामा ‘तगारो’ बनेको छ । उनीमाथि मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन बिकलाई लखेटेर हत्या गरेको आरोप छ । जसपामा आबद्ध कोइरी चुनावअघि नेकपा एमालेमा प्रवेश गरेका हुन् । जसपा र एमाले आपसमा गठबन्धन गरेर निर्वाचनमा जाँदै थिए । सिट बाँडफाँड गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमालेमा प्रवेश गरेर चुनाव लडे ।

नेकपा (एमाले)बाट जसपाको सहयोगमा उनले चुनाव जिते । नयाँ संविधान बन्नुअघि २०७२ मा मधेस आन्दोलन सुरु भयो । आन्दोलनमा सुरक्षामा खटिएका असई बिकको हत्या कोइरीको योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका बिकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले जिल्लाको आदेशलाई उल्ट्याइदियो ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महतोले नेकपा (माओवादी केन्द्र)का उप–महासचिव गिरिराजमणि पोखरेललाई हराए । प्रहरीको फरार सूचीका कोइरीले वारेसमार्फत उम्मेदवारी दिए, विजयी भएपछि प्रमाणपत्र लिन पनि वारेस नै पठाए । उनको तर्फबाट मिथिलेश यादवले प्रमाणपत्र बुझेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार