राजनीति
निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन–२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् ।
प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदमा प्याकेजमै सहमति गर्ने सत्ता गठबन्धनको तयारी छ । सोही अनुसार उनीहरुबीच एकअर्कामा अनौपचारिक दावी र छलफल भएपनि ठोस रुपमा छलफल भइसकेको छैन ।
स्रोतका अनुसार कांग्रेसले अहिलेसम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने संकेत देखाएको छ । पछिल्लो समय प्रधानमन्त्री तथा सभापति देउवालाई भेट्ने नेताहरुले देउवाको ‘मुड’ प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने रहेको बताएका छन् । कांग्रेसले यी दुवै महत्वपूर्ण पद नछोडे र माओवादी र नेकपा समाजवादी सहमतिमा नआए हालको गठबन्धन भत्कन सक्ने समेत आँकलन भइरहेका छन् ।
देउवाको यही मुड बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका नेताहरूसँग समेत नियमित सम्पर्कमा रहेका छन् । तर बुधबार उनले पोखरा पुगेर हालकै गठबन्धनले सरकार बनाउने बताइसकेका छन् । कांग्रेसले प्रधानमन्त्री राखे माओवादी र समाजवादीले राष्ट्रपति र सभामुख पाउनुपर्ने दुई पार्टीका नेताहरूको बुझाई छ । साथै सोही अनुसार प्रदेश प्रमुख र मुख्यमन्त्रीलगायतका पदको फाँडबाट गर्नुपर्ने अनौपचारिक कुराकानीमा ति पार्टीका नेताहरूले बताउने गरेका छन् ।
मंसिर २८ गते बुधवार आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरेको थियो । चुनावी परिणाम अनुसार प्रतिनिधि सभामा ८९ सिट जित्दै कांग्रेस पहिलो दल भएको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेका छन् ।
निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ । त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपति समक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको उहाँको भनाई छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शुन्य ९ प्रतिशत मत बदर भएको बताउनु भयो । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।