logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बालकाेट पुगे प्रचण्ड !


  • राजनीति
  • आइतबार, पुष १० २०७९

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको लागि बालकोट पुगेका हुन् । बालुवाटारको गठबन्धन बैठकबाट प्रचण्ड सिधै भक्तपुरको बालकोटस्थित् ओली निवास पुगेका हुन् ।

कांग्रेसले प्रधानमन्त्री र राष्टपति दुवै पद नछाडेपछि दाहाल बालकोट पुगेको बताईएको छ। अहिले दुई नेताबीच छलफल सुरु भएको स्रोतको दाबी छ । प्रचण्डले बालुवाटारबाट बाहिरिनेबित्तिकै पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा कांग्रेसका कारण गठबन्धन टुटेको बताएका थिए ।

उनी बालुवाटारबाट सिधै बालकोट पुगेका हुन् । बालकोटमा दुई नेताका अलावा एमालेबाट सुवास नेम्वाङ र माओवादीबाट वर्षमान पुन सहभागी रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार