logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड र अनन्तबिच बाेलचाल बन्द, बधाई समेत नदिएर पुन सम्पर्कबिहिन


  • राजनीति
  • मंगलबार, पुष १२ २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट फुत्काएर एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनाउन सफल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ खुमलटारको सम्पर्कबाट टाढिएका छन् ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार पुनले दाहाल नेतृत्वको सरकारमा पार्टीबाट महत्वपूर्ण मन्त्रालय लिएर सहभागिता जनाउने चाहना राखेका थिए । तर, पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि पुनको सिंहदरबारको यात्रामा ब्रेक लागेको हो । पुन यसअघि पटक पटक महत्वपूर्ण मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागिता जनाईसकेका नेता भएकोले अब सबैले रोजेर छाडिएको मन्त्रालयमा नेतृत्व लिन नजाने चर्चा छ ।

पार्टीबाट नारायणकाजी उपप्रधानमन्त्री बनेकोमा पुन असन्तुष्ट छैनन् । तर, राजनीतिमा भर्खरै उदाएका रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेकोले अब उनीभन्दा जुनियर मन्त्रीको रुपमा पुन सिंहदरबार नजाने अडानमा छन् । कतिपयले पुन उर्जामन्त्री बनेर सिंहदरबार जाने चर्चा पनि गरेका छन् । तर, पुनले भने आफूनिकट नेताहरुसँग अब आफू सरकारमा नजाने निश्कर्ष सुनाउन थालेका छन् ।

पुन चुनावलगत्तै चीनमा उपचार गराएर फर्किएपछि एमाले–माओवादी मिलाउन सक्रिय भएका थिए । नभन्दै उनको सक्रियताले सकारात्मक नतिजा निकाल्न सफल भएको छ ।पुष १० गते बालकोट बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनलाई ‘तपाईँको स्वास्थ्यमा पनि राम्रो भयो, अब यता पनि राम्रो हुन्छ’ भनेर प्रशंसा गरेका थिए ।

पुन सुरुवातदेखि नै माओवादीमा एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने लाइनका नेता मानिन्छन् । तर, प्रचण्डलाई तेस्रो पटक सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पुन नै सरकारमा सहभागिता जनाउनबाट वञ्चित बनेका छन् । पुनले अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दापनि भेटेर बधाई नदिएको चर्चा छ । अहिले पुन खुमलटारसँग सम्पर्कविहीन रहेको भन्दै उनको खोजी सुरु गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार