राजनीति
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो ।
प्राप्त कागजातमा सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।
यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् ।
किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति प्रकाशमा आएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।
जन्म मिति २०६२ जेठ १८ गते मान्ने हो भने वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते राति र भदौ ६ गतेको बिहानसम्मको समयमा उनको उमेर १७ वर्ष मात्रै पूरा भएको हुन्छ ।
सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि २०७९ भदौ ५ गतेको रातिदेखि भदौ ६ गतेको बिहानसम्म दुईपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
क्रिकेटर लामिछाने गत भदौ ६ गते साँझ केन्याविरुद्ध एकदिवसीय क्रिकेट खेल्न नौरोबी गएका थिए । त्यसको १५ दिनपछि अर्थात् २०७९ भदौ २१ गते किशोरीले महानगरीय प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।
किशोरीको जाहेरीमा सन्दीपले आफूलाई भदौ ५ गते कतै घुम्न निस्कौँ भनेर जबरजस्ती कारमा राखेर नगरकोट लगेको र आफूलाई त्यहीँ बलात्कार गर्न खोजेको भए पनि आफूले त्यहाँ बस्न नमानेकाले ढिला गरी काठमाडौं ल्याएर आफू बस्ने गरेको होस्टल बन्द भएपछि होटलमा पु¥याएर करणी गरेको जाहेरी दिएकी थिइन् । लामिछानेले आफूमाथि डर धम्की देखाई भदौ ५ गते रातिदेखि भदौ ६ गतेको बिहानसम्म गरी दुईपटक जबरजस्ती करणी गरेको उनको आरोप छ ।
सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले सन्दीपको खोजी गरेको थियो । प्रहरीले खोजी सुरु गरेलगत्तै लामिछाने क्यारेबियन लिग छाडेर फरार भएका थिए । त्यसपछि अमेरिकामा लुकेर बसेका लामिछाने असोज २० गते आत्मसर्मपण गर्दै नेपाल आएका थिए ।
प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेर बुझाइएको थियो । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि कात्तिक १८ गते न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि लामिछाने थुनामै छन् ।
जबरजस्ती करणीको कसुरमा जाहेरी र पीडित भनिएकी किशोरी नाबालिग रहेको कारण लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मञ्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ । सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गरिएको छ ।
जाहेरीवाली किशोरीको तर्फबाट सरकार वादी भएर दर्ता गरिएको कागजातमा किशोरीको उमेर १७ वर्ष ३ महिना रहेको उल्लेख छ । उमेर खुल्ने नागरिकताको फोटोकपी, शैक्षिक प्रमाणपत्रको फोटोकपी आदि पनि समावेश गरेर वादी नेपाल सरकारले लामिछानेविरुद्ध मुद्दा दायर गरेको थियो ।
तर प्रतिवादी सन्दीप लामिछानेतर्फका वकिलहरुलाई किशोरीको उमेरमा शंका लागेपछि खोजबिन गर्दा किशोरीको जन्म मितिमा विवाद देखिएको पाइएको हो र हाल विभिन्न स्थानमा पेस गरेको कागजातमा किशोरीको उमेर फरकफरक रहेको पाइएको छ ।