राजनीति
सभामुख देवराज घिमिरेसहित तीन दलका शिर्ष नेताहरुले संसदीय समितिका सभापति चयन गरेर जाने सहमति गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार घिमिरेसहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज बैठक भएको थियो ।
उक्त बैठकमा संसदीय समितिको सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानून मन्त्री धनराज गुरुङले जानकारी दिए ।
उनले भने, “लामो समय देखि संसदीय समितिको सभापति चयन हुन सकेको छैन् । अब छिटो भन्दा छिटो चयन गर्ने भन्ने पूर्ण रुपमा सहमती भएको छ ।”
गएको बैशाख १५ गते प्रतिनिधिसभामा १० वटा विषयगत समितिको गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समूहको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
यस्तै, बैठकमा राजनीतिमा देखिएको अराजकतालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्छ भन्नेमा तीन दलका शीर्ष नेताहरू सहमत रहेको उनको भनाइ छ।