राजनीति
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको घोटालाको पनि छानबीन हुनुपर्ने बताएका छन् ।
पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोनमेन्ट घोटालासहित विमान घोटालासम्म सबैमा उच्चस्तरीय छानबीन हुनुपर्ने बताए । विगतमा लडाकु शिवर घोटालमा चुप लागेर बसेको तर अहिले छानबीन गर्न माग गर्नु भएको किन भन्ने पत्रकारहरुको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा–एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबीन गरी निष्कर्षमा पु¥याउनु पर्ने बताए ।
आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउनको लागि फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरी अनुसन्धान बीचमै सामसुम हुने गरेको उनको आरोप छ ।
उनले भने, “आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ । अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।”
देशको कार्यकारीमाथि नै प्रश्न उठिरहेको समयमा निष्पक्ष रुपमा छानबिनका लागि उच्चस्तरीय छानबीन आयोग गठन गर्नुपर्ने उनको भनाई रहेको छ ।