राजनीति
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् ।
‘सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ,’ शर्माले भने, ‘राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो ।’
उनले सुन तस्करका संरक्षक स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर आफूलाई तेस्रोपटक पक्राउ गरेको टिप्पणी गरे ।
प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीमाथि खनिएका सांसद शर्माले विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने विशेष धन्यवाद दिएका छन्।
सीआईबी हिरासतबाट बाहिरिने क्रममा सञ्चारकर्मीमाझ शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि ‘पितासरह’ भूमिका निर्वाह गरेको भन्दै विशेष धन्यवाद दिएका हुन्।
उनले भने, ‘मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु। म उहाँलाई भेट्छु पनि।’