राजनीति
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज शपथ लिने भएका छन् ।
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसहमतिले अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।
प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । त्यसका लागि मंगलबार बिहानैबाट चिठी पठाउने लगायतको काम भएको भट्टराईले बताइन् ।