logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिनियाँ राजदूतकाे अभिव्यक्ति बिवादकाे बिषय हाेइन् : गुरुङ


  • राजनीति
  • शनिबार, भाद्र २३ २०८०

नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले चिनियाँ राजदूतको अभिव्यक्तिमा चिन्ता गर्नुपर्ने विषय नभएको बताएका छन् ।

‘हरेक मुलुकको आफ्नै अस्तित्व, स्वाधीनता र सार्वभौमिकता हुन्छ । आन्तरिक मामिलाका विषयमा टिकाटिप्पणी गर्नुहुँदैन भन्ने कूटनीतिक मान्यता हो । त्यस अनुकूल वा प्रतिकूल के भएको छ, परराष्ट्र मन्त्रालयले समीक्षा गरिरहेकै छ । आवश्यक परे परराष्ट्र मन्त्रालयमार्फत आपसी संवाद र कुराकानीबाट समाधान गर्नुपर्ने हुन्छ । यो चिन्ता गर्नुपर्ने कुरा होइन । म कुनै मुलुक वा व्यक्तिविशेषका बारेमा टिकाटिप्पणी गर्न चाहन्नँ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा उनले भने ।

माओवादी महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा आवश्यक परे कुराकानी हुने पनि औंल्याए । उनले भने, ‘आवश्यक परे कुराकानी हुन्छ, आवश्यक नपरे कुराकानी नगर्न पनि सक्छ । आफूले चुच्चे नक्साका बारेमा पनि संसद्बाट सर्वसम्मत रुपमा पारित गरिएको छ । संयुक्त राष्ट्रसंघ लगायत सबै मित्रराष्ट्रलाई पत्राचार गर्नुपर्ने विषय हो, कति जानकारी भयो, भएन ? त्यो परराष्ट्र मन्त्रालयले भन्ने कुरा हो ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने कुनै औचित्य नभएको पनि उनले बताए । उनले भने,’ भ्रष्टाचारविरुद्ध कारबाही गरिरहेका बेला गृहमन्त्रीले किन राजीनामा गर्ने ? प्रतिशोधमा हटाउने हो भने अर्कै कुरा हो । यसले भ्रष्टाचारलाई संरक्षण गर्ने काम कहीं कतैबाट नहोस् ।’ गठबन्धन सरकारले पाँच वर्ष निरन्तरता पाउने उनको दाबी छ ।

कोशी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार बन्छ ? एमाले नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने पत्रकार धमलाको प्रश्नमा नेता गुरुङले भने, ‘संघ र प्रदेशमा त्रिशंकु संसद् बनेको स्थितिमा सर्वदलीय वा राष्ट्रिय सहमतिबाट जानुपर्छ भन्दै आएको विषय हो । तर सम्भव हुन सकेन । फेरि पनि सर्वदलीय वा राष्ट्रिय सहमतिबाट जानुपर्छ भन्ने देखिएको छ । अहिले संवादको ढोका बन्द भइसकेको छैन ।’

माओवादीका चार मन्त्रीको सचिवालयमा रहेका भीमकान्त भण्डारी पक्राउ परे नि भन्ने अर्को प्रश्नमा उनले थपे, ‘सुनकाण्डमा पक्राउ परेका व्यक्ति फलानो वा ढिस्कानो पार्टीको भन्नुको औचित्य छैन । भ्रष्टाचारमा माओवादी मात्र किन ? जो कोही हुन सक्छ । गैरकानुनी काम गरेको जोसुकै पक्राउ पर्न सक्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार