logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

देउवाकाे दबावले राजिनामा दिने स्थितिमा गृहमन्त्री श्रेष्ठ


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

गृहमन्त्री नारायण काजी श्रेष्ठ राजिनामा दिने मनाेस्थितीमा पुगेका छन् । प्रमुख सत्ता गठबन्धनको ठूलो दल कांग्रेसको भ्रातृ संगठन तरुण दलले विभिन्न शहरमा प्रदर्शन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । सुन तस्करी प्रकरण सार्वजनिक भएपछि संसदमै पनि उनको राजीनामा मागियो ।

पछिल्लो विरोधको तत्कालीन कारण २० भदौमा पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार देखिए पनि कांग्रेसभित्रको एउटा पङ्ति गृहमन्त्री हटाउन खुलेरै लागेको लुकेको छैन । राजधानीमै दिनदहाडै नेतामाथि सांघातिक आक्रमण हुनुले शान्ति सुरक्षाको कमजोर स्थिति उजागार गरेकै छ । तर, कांग्रेस नेताहरूको आक्रोश गृहमन्त्री श्रेष्ठप्रति केन्द्रित रहेको प्रदर्शनका क्रममा लगाइएका नारा र प्लेकार्डले पुष्टि गर्छ ।

तरुण दलको प्रदर्शनमा गृहमन्त्री श्रेष्ठलाई तस्करको नाइकेको आरोप लगाइएको छ । त्यस्तै, ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ र ‘पक्षपाति प्रहरी प्रशासन मुर्दावाद’को नारा लगाइयो । प्रदर्शनमा तरुण दलका पूर्वअध्यक्ष यादवमाथिको आक्रमणको विरोध मात्र नभइ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा जेलमा रहेका अर्का पूर्वअध्यक्ष एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउन दबाब दिने उद्देश्य पनि प्रस्टै देखिन्थ्यो ।

त्यसो त, गृहमन्त्री नारायणकाजी श्रेष्ठ निष्पक्ष रहँदासम्म कांग्रेसले हस्तक्षेप त परको कुरा गठबन्धन बैठकमा असन्तुष्टिसमेत राख्न सकेको थिएन । सीआईबीको अनुसन्धानले दोषी संकेत गरिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरालाई संरक्षण दिएको तथ्यबाटै पुष्टि भएपछि श्रेष्ठको काम कारबाहीप्रति प्रश्न उठ्न थाल्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन बैठकमा खुलेरै श्रेष्ठको आलोचना गर्न थाले । प्रधानमन्त्री पुष्पकमल दाहालसँगका गोप्य बैठकमा गृहमन्त्री फेर्ने प्रस्तावसमेत लगेको बालुवाटार स्रोत बताउँछ ।

खासगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता खाँण पक्राउ परेपछि देउवा झस्किएका थिए ।

गृहमन्त्री श्रेष्ठको सचिवालयले देउवा पत्नीसमेत रहेकी कांग्रेस सांसद् डा आरजु राणालाई पक्राउ गर्ने हल्ला चलाएको भन्दै देउवा असन्तुष्ट भए । डा राणालाई पैसा बुझाएको भन्ने अडियो नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्दीप शर्माको भएको पुष्टि भएको भन्दै गृहमन्त्रालयले प्रेस वक्तव्य नै जारी गरेपछि देउवा दम्पती थप सशंकित भए । देउवा पत्नी राणाले त सरकारलाई पाकिस्तानी मोडलमा हिँड्न खोजेको आरोपसमेत लगाएकी थिइन् ।

माओवादी नेता महराका बाबुछोरालाई प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले संरक्षण गरेको खुलेपछि कांग्रेस सभापति देउवाले सरकारमा हस्तक्षेप बढाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु गर्न थालेका प्रहरी अधिकारीलाई सुरुमै उनले निशाना लगाएका छन् ।

गृहमन्त्रीको असहमतिमा उनलाई थाहसमेत नदिई मन्त्रिपरिषद्को ‘ब्याक डेट’मा नक्कली शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अधिकारीको एकाएक सरुवा गरियो । त्यसमा मुख्य हात कांग्रेस सभापति देउवाको देखिन्छ । लगत्तै, उनले पक्राउ पुर्जी जारी भएका कांग्रेस नेता विजय गच्छदारलाई पक्राउ नगरी बयान लिन दबाब दिए । ४ भदौमा सीआईबी पुगेर गच्छदारलगायत आरोपित पूर्वमन्त्रीहरूले बयान दिए र घर फर्किए । तर, प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा गच्छदारलगायतका पूर्वमन्त्रीहरू फरार रहेको उल्लेख छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई घरमै गएर ठाडो कागज गरेर छाडियो । सर्वाेच्च अदालतको २२ साउनको आदेश कार्यान्वयन गर्न औपचारिकताका लागि ठाडो कागज गर्ने सहमति सत्ता गठबन्धनले बालुवाटारमा गरेको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार