राजनीति
ुनेकपा एमाले का उपाध्यक्ष तथा संविधानसभा का अध्यक्ष सुवासचन्द्र नेम्वाङ काे हृदयघातका कारण निधन भएको छ । नेम्वाङको मंगलबार बिहान तीन बजे निधन भएकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएकाे छ । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ लामो समयदेखि मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी थिए । अचेत अवस्थामा राति १ बजेर ५० मिनेटमा शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले बिहान ३ बने मृत घोषणा गरेका थिए ।
के भएको थियो सुवासचन्द्र नेम्वाङलाई ?
सोमबार बिहान नेम्वाङको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । उनी २३ भदौमा धरानमा भएको एमालेनिकट युवा संघको कोशी प्रदेशको अधिवेशनमा पुगेर दुई दिनअघि काठमाडौं फर्किएका थिए ।
धरानमा अहिले डेंगी संक्रमण व्यापक रूपमा फैलिएका कारण उनलाई डेंगी भएको हुन सक्ने भन्दै उनको उपचारमा संलग्न चिकित्सक प्रदीप कुमार घिमिरे चेकजाँच गरे । उनको शरीरको तापक्रम सामान्य थियो । अलिकति सुगर लेभल भने बढेको थियो । घिमिरेले भने, ‘उहाँको सुगर लेभल अतिकति बढेको जस्तो देखिएको थियो ।’ घिमिरेले उनलाई आराम गर्न आग्रह गरे । र, चिकित्सकको सल्लाह बमोजिम नेम्वाङ सोमबार दिनभर घरमै बसे ।
साँझ पनि स्वास्थ्य सामान्य
घिमिरे फेरि स्वास्थ्य परीक्षण गर्न साँझ साढे चार बजे बालुवाटारस्थित नेम्वाङको निवासमा पुगे । उनको ज्वरो नापे । शरीरको तापक्रम १०० डिग्री फरेनहाइट थियो । अरु सबै सामान्य नै थियो ।
नेम्वाङले आफूलाई ठीक भएको भन्दै भोलिपल्ट बिहान ७ बजे आउनु भन्दै घिमिरेलाई बिदा गरे । र, घिमिरे आफू निस्किँदै गर्दा सिटामोल र केही जीवनजलका प्याकेट राखिदिएको बताए । उनले भने, ‘म निस्किँदा भाउजु (नेम्वाङकी श्रीमती) लाई ज्वरो १०१ भन्दा माथि गयो भने सिटामोल खान दिनु है भनेर सिटामोल र जीवनजल छोडिदिएको थिएँ ।’
कसरी भयो मृत्यु ?
नेम्वाङले रातिको खाना छोरीहरूसँग बसेर खाए । र, सुते । राति १ बजे उनी बिउँझिए । आफूलाई पिसाब लागेका कारण उठेको बताए । त्यही बेला नेम्वाङलाई गाह्रो भइरहेको थियो । उपचारका लागि अस्पताल लैजान तत्काल एम्बुलेन्स बोलाइयो ।
घिमिरेले भने, ‘उहाँ एम्बुलेन्स चढ्दासम्म अइया–अइया गरिरहनु भएको थियो रे । अस्पताल पुगेको केहीबेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभयो । सायद उहाँको प्राण एम्बुलेन्समा गएको हुनुपर्छ ।’ मिडियामा आए जस्ताे उनी बाथरुममा लडेको नभएको उनी बताउँछन् ।
त्यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले प्रेस विज्ञप्ति जारी गर्दै राति १ बजेर ५० मिनेटमा उनलाई अस्पताल ल्याइएको जानकारी गराएको छ । अस्पताल पुग्दा जीवनसम्बन्धी कुनै चाल नभएको, आँखाको नानी फुलिसकेको र पल्स रेकर्ड गर्न नमिल्ने भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालका अनुसार चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै चाल नदेखिएपछि बिहान ३ बजे मृत घोषणा गरिएको थियो । तर, अस्पतालले उनको मृत्युको कारण भने उल्लेख गरेको छैन ।
वर्षौंदेखि औषधि सेवन
नेम्वाङ मुटु, सुगर र प्रेसरका बिरामी थिए । उनले लामो समयदेखि मुटुको प्रेसर र सुगरको औषधि सेवन गर्दै आइरहेको बताउँछन्, घिमिरे । उनी भन्छन्, ‘उहाँ मुटुसम्बन्धी समस्या (एट्रियल फिब्रलेसन) को बिरामी हुनुहुन्थ्यो । डा. अरुण सयामी र डा. यादव भट्टले हेर्नु भएको थियो । र, १५/१६ वर्ष अगाडिदेखि नियमित रूपमा औषधिको सेवन गरिरहनु भएको थियो ।’ त्यस्तै, पछि मधुमेहको समस्या देखिएपछि इन्डोक्रइनोलोजिष्ट डा. बुद्धबहादुर कार्कीको निगरानीमा थिए, नेम्वाङ ।
‘एट्रियल फाइब्रिलेसन’ भनेको के हो ?
मुटुरोग विशेषज्ञ डा. यादव भट्टका अनुसार यो भनेको मुटुको चाल बिग्रने एक अवस्था हो । एट्रियल फाइब्रिलेसनले रगत जम्ने, स्ट्रोक, प्यारालाइसिस, हर्ट फेयरलगायत मुटुसम्बन्धी अन्य जटिलता निम्त्याउन सक्छ ।
डा. भट्ट भन्छन्, ‘एट्रियल फाइब्रिलेसनको समस्या धेरैलाई हुने गरेको छ ।’ त्यस्तै, अमेरिकन हर्ट एसोसिएसनका अनुसार सन् २०३० सम्ममा १ करोड २० लाखभन्दा बढी व्यक्तिलाई हुने अनुमान गरिएको छ ।
हृदयघात भएको हो ?
मुटुका बिरामी भएकाले आधिकारिक रूपमा पुष्टि नभए पनि उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।विज्ञहरूका अनुसार हृदयघात भएका करिब एकतिहाइ व्यक्ति समयमै अस्पताल पुग्दैनन् । र, नेम्वाङको पनि त्यही भएको हुन सक्ने अनुमान विज्ञहरूको छ ।
तर, एट्रियल फाइब्रिलेसनको समस्या भएका व्यक्तिलाई हृदयघातको जोखिम हुने भनिए पनि एकदमै थोरै व्यक्तिमा मात्र यो देखिने गरेको डा. भट्ट बताउँछन् । उनले भने, ‘उहाँको केसमा के भएको हो भनेर यसै भन्न सकिँदैन ।’