राजनीति
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ। आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा.मनिष खड्कामाथि आक्रमण भएको हो।
बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा.खड्कामाथि हेलमेट प्रहार गरेका हुन्। डा.खड्कामाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
थप जाँचका लागि सिनियर डाक्टर आउँदै हुनुहुन्छ भन्दाभन्दै बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ गरेको भन्दै माफूमाथि आक्रमण गरेको डा.खड्काले बताए।
बिरामीको उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन्। उनीहरू अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन्।
उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको थियो। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलित चिकित्सकबीच ६ बुँदे सहमति भएको थियो।
सहमतिको मसी सुक्न नपाउँदै फेरि आज चिकित्सकमाथि आक्रमण भएको हो।
केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।
यसअघि पोखराको मणिपाल अस्पताल,हेटौडाको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो। बिरामीकै उपचारमा खटिएका चिकित्सकमाथि पटकपटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए।