राजनीति
विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी लाई नेपाल प्रहरीले प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ ।
चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता पुरुष क्रिकेट अन्तर्गत उनले विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए।
यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।
उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमा अर्धशतक पूरा गरेर कीर्तिमान कायम गरेका थिए । यसअघि यो कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा थियो ।
विश्व कीर्तिमान कामय गरेका खेलाडी ऐरी २०७३ सालदेखि नेपाल प्रहरीमा आबद्ध छन् ।
यस्तै एसियाली खेलको क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले आफ्ना ५ जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच खेलाडीलाई सम्मान गरेका हुन् ।
सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा छन् ।
उनीहरुलाई सम्मान गर्दै कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए ।