logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मेराे नजरमा सबैभन्दा ठुलाे हत्यारा राष्ट्रपति पाैडेल हुन् : भारती


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

हत्या अभियोगमा कैद सजाय भुक्तान गरिरहेका रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध अनशनरत भारती शेर्पाले आफ्नो नजरमा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति भएको बताएकी छन् ।

हिजो (सोमबार) एउटा टेलिभिजन कार्यक्रम पत्रकारसंग संवाद गर्दै उनले राष्ट्रपतिजस्तो देशकै अभिभावकले अपराधीलाई आममाफी दिने कुरा सोच्न पनि नसकिने बताईन् ।

सरकारले आममाफीको लागि सिफारिस गरेपनि कस्तो प्रकारको मुद्दा हो, आममाफी दिन मिल्ने कि नमिल्ने हो लगायतका कुरा राष्ट्रपतिले नबुझी राष्ट्रपतिले निर्णय गरेको उनको अरोप छ ।

‘सबैभन्दा ठूलो हत्यारा मेरो नजरमा राष्ट्रपतिनै हुनुहुन्छ । सबैभन्दा ठूलो हत्यारा उहाँलाई नै मैले मान्छु । कानुनले तोकेको जुन सजाय थियो, उ (रिगल) काटिनै रहेको थियो । सरकारले आममाफीको सिफारिस गरिसकेपछि पनि राष्ट्रपति भनेको अगुवा हुनुहुन्छ ।’ उनले भनिन्, ‘हामी जनताको मान सम्मान सबै कमाएर बसेको मान्छे उहाँले एक पटक हेर्नुपर्ने थियो । कुन किसिमको मुद्दा हो ? आममाफी दिन सकिन्छ कि सकिँदैन ? भनेर उहाँले ध्यान दिनुपर्ने हो ।’

रिगलले राज्यशक्तिको दुरुपयोग गरेर आममाफी पाएको जानकारी पाएपछि आफू रिले अनशनको लागि काठमाडौं आएको उनले बताईन् । आफूले सुरु गरेको रिले अनशनमा पूरै नेपालीहरुको समर्थन रहेको महशुस गरेको उनको भनाई छ ।

रिगललाई कानुनले तोकेको पूरै सजाय हुनुपर्ने उनको माग छ । ‘हत्यारालाई सजाय हुनपर्यो । उसको सजाय कानुनमा जुन तोकिएको छ, पूरै भएको छैन । आममाफी दिने राष्ट्रपति हुनुहुन्छ । राष्ट्रपतिले मात्रै आममाफी दिएर सजाय पूरा भयो भन्न मिल्दैन,’– उनले भनिन् ।

आफूलाई यसअघि राष्ट्रपतिको बारेमा थाहा नभएको उनले बताईन् । आममाफी पाएपछि राष्ट्रपतिको बारेमा खोजी गर्दा परिपक्व मान्छेबाट यस्तो बदमासी भएको थाहा पाएको उनले बताईन् । राष्ट्रपति पौडेलको फोटो देख्दैमा आफूलाई झनै रिस उठेको उनको भनाई छ । पीडित परिवारको सहमति विना राष्ट्रपतिलाई पनि आममाफीको अधिकार हुन नहुने उनको भनाई छ ।

‘उसले एउटा मान्छेमात्रै मारेको छैन, पूरै परिवार खत्तम भएको छ । त्यस्तो हत्यारालाई आममाफी दिने अधिकार राष्ट्रपतिलाई छैन । मेरो नजरमा राष्ट्रपतिले सबै गर्न पाउने अधिकार छैन,’– भारतीले भनिन् उनी आफ्नो पतिकाे न्यायकाे माग गर्दै नेपालगन्ज बाट काठमाडौं आएर माइतीघर मा अनसनरत छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार