logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाजाका जनतामाथीकाे युद्ध अपराध राेक्न संयुक्त राष्ट्रसंघकाे चेतावनी


  • राजनीति
  • बुधबार, कार्तिक १ २०८०

संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीलाई गाजामा पहुँच दिन अपिल गरेको छ । यदि त्यहाँ सहायता पुर्‍याउन अवरोधमा भएमा युद्ध अपराध हुने चेतावनी राष्ट्रसंघले दिएको हो ।

मानव अधिकारका लागि राष्ट्रसंघकी उच्चायुक्तकी प्रवक्ता रविना श्यामदासनीले उत्तरी गाजाबाट स्थानीयलाई दक्षिणतर्फ स्थानान्तरणका लागि इजरायली सेनाले दिएको निर्देशनले मानवअधिकारको कानुन उल्लंघन हुने बताएकी छन् । उनले हमासको बन्धकमा रहेका इजरायलीको तत्काल रिहाइका लागि पनि आग्रह गरेकी छन् । राष्ट्रसंघले गाजा क्षेत्रमा सहायताका लागि अनुमतिको माग गर्दै आएको छ । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासले पनि राफाह क्षेत्रबाट विस्थापितलाई इजिप्टतर्फ पार गर्न दिन र सहायताका लागि संघर्ष विराम गरेका रिपोर्टलाई खारेज गरेका छन् ।

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका विस्थापितहरूको दैनिकी कष्टपूर्ण बनेको छ । उत्तरी गाजाबाट विस्थापित भएकामध्ये हजारौंको संख्यामा इजिप्टतर्फ जान राफाह क्षेत्रको सीमा पुगे पनि अनुमति नपाउँदा अलपत्र बनेका छन् । यस्तै, खान युनिस क्षेत्रमा पुगेका विस्थापितहरू एउटै घरमा ९० जनासम्म बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि जारी द्वन्द्वका कारण गाजा क्षेत्रबाट करिब १० लाख व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । हमासको आक्रमणमा १ हजार ४ सय इजरायलीको मृत्यु भएको छ, जसमा २ सय ८६ जना सैनिक छन् । यस्तै, गाजा क्षेत्रमा इजरायलको आक्रमणका कारण मृत्यु हुनेको संख्या करब २ हजार ७ सय रहेको प्यालेस्टाइनका अधिकारीले जनाएका छन् । दुवै तर्फ गरी हजारौं व्यक्ति घाइते भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जारी द्वन्द्वका कारण उत्तरी गाजा क्षेत्रको मानवीय स्थिति बिग्रँदै गएको चेतावनी दिएको छ । मध्यपूर्व क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठनका निर्देशक अहमद अल–मन्धारीले बमबारी भइरहेको र इजिप्टको सीमा राफाह क्षेत्रमा रहेका विस्थापितलाई सहयोगका लागि अनुमति दिनुपर्ने बताएका छन् ।

यदि सहायता दिन नसकिएमा ‘चिकित्सकले धेरै घाइतेको मृत्युको प्रमाणपत्र तयार गर्नुपर्ने’ उनको भनाइ छ । गाजा क्षेत्रका चिकित्सकले पनि गत आइतबार इन्धन र अन्य उपकरणको अभावमा धेरै घाइते मर्न सक्ने चेतावनी दिएका थिए । हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाहीस्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । अर्कोतर्फ इजरायलले उत्तरी गाजामा निरन्तरजसो मिसाइल आक्रमण गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार