logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपामा युवा नेताहरुले नया पहल गर्ने , को को छन् सहभागी ?


  • राजनीति
  • मंगलबार, कार्तिक २७ २०७५

सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ।

विधानअनुसार ३ महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन। यही अल्झनले दुई कम्युनिस्ट पार्टीबीच ३ जेठमा भएको एकता प्रक्रियाले तल्लो तहसम्म पूर्णता पाउन सकेको छैन। केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकता र सरकारको प्रभावकारिताका विषयमा नेताहरूबीच मतैक्य हुन सकेको छैन।

‘पार्टी संगठनको काम भद्रगोल छ, सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन। यस्तो बेला पार्टी बैठक बस्न नसक्दा अन्योल झन् बढेको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तत्काल बैठक बोलाउन, तल्लो तहसम्म एकता टुंग्याउन र सरकारको काम प्रभावकारी बनाएर लैजान हामीले शीर्ष नेताहरूको ध्यानाकर्षण गराउन थालेका छौं।’

स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर), योगेश भट्टराई, पौडेललगायत नेता संगठित रूपमै दबाब अभियानमा लागेका छन्। उनीहरूले सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, श्रममन्त्रीसमेत रहेका गोकर्ण विष्ट, परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलगायत नेतासँग पनि शीर्ष नेतृत्वमाथि दबाब बढाउने विषयमा औपचारिक÷अनौपचारिक छलफल गरिसकेका छन्।

‘शीर्ष नेताहरूको भूमिकामा मात्र भर पर्दा तलसम्म एकता प्रक्रियाले गति लिन सकेन। पार्टीमा अब हामीले पनि भूमिका खोज्नुपर्छ भनेर हामी स्थायी समिति सदस्यले पहलकदमी बढाउन सुरु गरेका छौं’, पौडेलले भने। उनका अनुसार पार्टीभित्रका युवा पुस्ताका स्थायी समिति सदस्यहरूको यो टोलीले अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग परामर्श नगरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत नेतासँग भेटघाट र छलफल गरिसकेको छ। वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग पनि कुरा गर्ने तयारीमा उनीहरु छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण दबाब नबढाएको उनीहरूको भनाइ छ।

‘हिजो एकता प्रक्रियाको साहसिक निर्णय लिने हाम्रा नेता पनि उहाँहरू नै हुनुहुन्छ, तर आज उहाँहरूले नै भूमिका लिएको एकता प्रक्रियामा किन ढिला भइरहेछ रु यसलाई छिटो टुंग्याउन पर्‍यो भनेर हामीले आफ्नो ठाँउबाट पहलकदमी बढाउन थालेका हौं’, पौडेलले भने। एक सातायता उनीहरूले पार्टीभित्र शीर्ष नेतृत्वमाथि दबाब बढाउन संगठित अभियान थालेका हुन्।

नेकपाको केन्द्रमा अझै केन्द्रीय सदस्यको कार्यविभाजन भएको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। प्रदेश पदाधिकारी चयन भए पनि सदस्य चयन भएको छैन। जिल्ला र गाउँ तहसम्म र जनवर्गीय संगठनमा अझै पूर्ववत् पार्टीका आ–आफ्नै संगठनात्मक संरचना जीवित छन्। केन्द्रमा दुई तिहाइको सरकार आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरे पनि प्रभावकारी देखिएको छैन। ७ मध्ये ६ वटा प्रदेश सरकार नेकपाकै छन् तर ती प्रदेश सरकारको गति पनि उस्तै लथालिंग छ।

यस्तो बेला सरकारको समीक्षा, पार्टी एकता प्रक्रियाको पूर्णतालगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक पटक–पटक डाके पनि स्थगित हुँदै आएको छ। पछिल्लो पटक तिहारअघि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक यो महिना अझै बस्ने सम्भावना देखिएको छैन। अन्नपूर्णपोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार