logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओलीका शक्तिशाली दुई सल्लाहकार


  • राजनीति
  • मंगलबार, कार्तिक २७ २०७५

 

प्रधानमन्त्री केपि शर्मा ओलीको सचिवालयमा सबैभन्दा शक्तिशाली छन् प्रमुख सल्लाहकार बिष्णु रिमाल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका रिमाल तत्कालीन एमालेको आर्थिक विभाग प्रमुख हुन् । पेशाले इन्जिनियर रिमाल, एमालेको मजदूर संगठनको नेतृत्व गरिसकेका नेता हुन् ।

रिमालका आलोचक पनि पार्टीभित्र धेरै छन् । तर, योग्यता, क्षमता र खटाइका हिसाबले ओलीले भरोसा गर्ने पात्र रिमाल नै हुन् । प्रविधि र भाषामा उत्तिकै दख्खल राख्ने भएकाले रिमाललाई ओलीले दोस्रो पटक पनि प्रमुख सल्लाहकार बनाएका हुन् ।

प्रधानमन्त्रीका भाषण लेख्ने र अरुले लेखे पनि पुनर्लेखन गरेर अन्तिम रुप दिने रिमालको विशेष दक्षता रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अन्तर मन्त्रालय समन्वय तथा प्रशासनयन्त्रसँगको संयोजन पनि रिमाललेनै गर्ने गरेका छन् ।

रिमालपछि दोस्रो महत्वूर्ण नियुक्ति डा. राजन भट्टराईले पाएका छन् । नेकपा केन्द्रीय सदस्य तथा विदेश मामिलाका विज्ञ भट्टराईलाई यसपटक सुरक्षा मामिलाको समेत जिम्मेवारी दिएर ओलीले नियुक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलको भूमिकामा भट्टराईलाई ल्याएको चर्चा नेकपाभित्र चलेको छ ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका भट्टराईको नियुक्तिले रिमालको भार कम गर्ने बालुवाटार स्रोतको भनाइ छ । काठमाडौं ४ बाट कांग्रेसका गगन थापासँग पराजित भएका भट्टराई अर्को चुनावलाई लक्षित गरी सोही क्षेत्रमा ठूला आयोजना र बजेट पार्न केन्द्रित छन् ।

भट्टराई भारतको राजदूत पद अस्वीकार गरेर बसेको बालुवाटार स्रोत बताउँछ । राजदूत भएर जाँदा संसदीय राजनीतिमा पछि परिने भन्दै उनले निर्वाचन क्षेत्रमै केन्द्रित हुने इच्छा देखाएका हुन् । उनी नेपाल भारत प्रवुद्ध समूह (इपिजी) का सदस्य पनि हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार