राजनीति
सत्तारुढ दल (नेकपा) भित्री इन्ट्रेस्टहरु बिस्तारै बाहिर आउन थालेका छन । पटप पटक बैठक डाकिए पनि बैठक बस्न नसकेको कारण स्थायी समितिमा प्रचण्डको दौड र ओलीको अल्पमतको लघुताभास भएको देखिएको छ । यसै कारणले दुई अध्यक्षबिच खटपट शुरु भएको छ । स्थायी समितिमा ओली अहिले अल्पमतमा पर्न थालेको अनुमान गरिएको छ ।
विधानतः तीन–तीन महिनामा बस्नुपर्ने नेकपा स्थायी समिति बैठक एकतापछि गम्भीर छलफल गर्न अहिलेसम्म बस्न सकेको छैन। २ असारमा सामान्य परिचयात्मक र २१ असारमा छोटो अवधिका लागि स्थायी समिति बैठक बसेको थियो। पार्टी एकताको पूर्णता र सरकारको समीक्षा गर्न तत्काल अर्काे बैठक बोलाउनेबारे छलफल भए पनि त्यसयता समिति बैठक बस्न सकेको छैन।
भदौ ८ र ९, भदौ १९ र २०, भदौ २६ र २७, कात्तिक ४ र ५ हुँदै कात्तिक १२ र १३ मा बैठक डाकिएको थियो। तर यी कुनै दिन पनि बैठक बस्न सकेन। तिहारअघि बैठक अनिश्चितकालका लागि स्थगित गरे पछि अर्काे मिति तोकिएको छैन। ‘अब यो महिना बैठक बस्ने सम्भावना देखिँदैन’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।
नेकपाभित्र पार्टी एकता र सरकारको कामको समीक्षा मात्र नभएको होइन, एकतापछिको पार्टीको राजनीतिक प्रतिवेदनसमेत उसले प्रकाशित गर्न सकेको छैन। आन्तरिक राजनीतिक कार्यदिशासहितको प्रतिवेदन छाप्ने भनेको ३ महिना भए पनि छापिएको छैन।
पार्टी एकताको ६ महिनाभित्र पार्टी सदस्यको अभिलेख राख्ने विधानको व्यवस्था कहिले कार्यान्वयन हुन्छ निश्चित छैन। उसले ६ महिनाभित्र संगठित सदस्यको अभिलेख एकीकृत गरी सदस्यता नम्बर निर्धारण गर्ने व्यवस्था विधानमै गरेको थियो।