logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

संविधान र संवैधानिक व्यवस्था नै समाजवादको बाधक : अध्यक्ष यादव


  • राजनीति
  • बुधबार, चैत्र २१ २०८०

जनता समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था नै समाजवादको बाधक रहेको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको संविधानमा समाजवादउन्मुख लेखिएको भएपनि संविधान र संवैधानिक व्यवस्था नै समाजवादको बाधक रहेको जिकिर गरे ।

उनले अहिलेको तमासाबाट समाजवाद आउने कुनै सम्भावना नरहेको बताए । समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको भन्दै उनले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै समाजवाद ल्याउन नसकिने दाबी गरे ।

‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, तर कहाँसम्म पुगिन्छ, थाहा छैन । अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था नै समाजवादको बाधक हो,’ उनले भने, ‘समाजवादका लागि संविधान नै पूरै बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । अहिले जे-जस्तो तमासा भइरहेको छ, यसबाट समाजवाद आउनेवाला छैन ।’

उनले वर्तमान निर्वाचन प्रणाली नै समस्याका रुपमा देखिएको बताए । ‘यो निर्वाचन प्रणाली बदल्नैपर्छ । शासकीय स्वरुप बदल्नुपर्छ र लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रलाई रुपान्तरित गर्नुपर्छ । संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुदैन,’ उनले भने । अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय प्राप्त हुन नसक्ने जिकिर गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार