राजनीति
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले बिमस्टेकलाई सार्कको प्रतिस्थापन संस्थाको रुपमा स्वीकार नगर्ने बताएका छन् । भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठले भने यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको बताए । मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको प्रावधान सम्बन्धी छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यैै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नलिएको दाबी गरे ।
उनले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने बताए । बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुने गरी नेपाल अगाडि बढ्न भुमिका खेल्ने उनको भनाइ थियो ।
‘अहिले सार्कका सम्बन्धमा हामी सबैले देखेका छौं, यहाँ पनि आवाज उठेको छ । सार्कलाई सक्रिय बनाउन सकिएको स्थिति छैन । हामी अहिले सार्कको अध्यक्ष छौं । हामी सार्कलाई प्रभावकारी बनाउन आफ्नो हैसियतबाट जति भूमिका खेल्न सक्छौँ, त्यो भुमिकासहित पहलकदमी लिने सोचमा छौं,’ उनले भने, ‘त्यस दिशामा हामी सक्रियता प्रदर्शन गर्नेछौं । तर हामी सबैलाई थाहा छ, हामीले चाहँदा मात्रै पनि कुनै संस्था सक्रिया वा निष्क्रिय भइहाल्दैन ।’
उनले नेपाल एउटा सक्रिय सदस्य राष्ट्र भएको हिसावले पनि सार्कको निष्क्रियतालाई तोड्न र प्रभावकारी भूमिका निभाउन पहल गर्ने बताए । उनले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भुमिका निर्वाह गर्ने धारणा राखे ।