राजनीति
नेकपा माओवादी केन्द्रभित्र पहिलोपटक नीति र नेतृत्व फेर्ने कुराले प्रवेश पाएको छ।
३५ वर्षदेखि पार्टीमा एकछत्र नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने गरी कोही नेता तयार नभए पनि माओवादीको वैचारिक कार्यदिशा र नेतृत्व दुवैको समीक्षा गर्नुपर्ने प्रस्ताव नेताहरुले राखेका हुन्।
तर, यस विषयमा नेताहरु दुई धारमा उभिएका छन्।
यद्यपि, पार्टी कमजोर भएको, जनतासँगको सम्बन्ध बिग्रेको, आफ्नो वर्गबाट टाढा भएको र नेताहरुको चरित्रमा ह्रास आएको छ भन्ने कुरामा सबैको स्वीकारोक्ति छ।
साउन २५ गतेदेखि जारी स्थायी समिति बैठकमा बोल्ने आधाजसो नेताले पार्टी कमजोर हुनुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कमजोरी रहेको आरोप लगाए।
उनीहरुले अहिलेको नीतिले पार्टी नचल्ने र जनताको मन जित्न नसक्ने भन्दै बदल्नुपर्ने धारणा राखे।
तर, अन्य आधाले प्रचण्डकै नेतृत्व सही भएको र अहिले अवलम्बन गरेकै नीतिलाई निरन्तरता दिएर पनि पार्टी बलियो हुने बताए।
माओवादीका ४३ जना स्थायी समिति सदस्यमध्ये आइतबार (साउन २७) सम्म २६ जनाले बोलिसकेका छन्।