logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

क्रान्तिकारी ध्रुवीकरण लागि जनएकता अभियानद्धारा अपिल


  • राजनीति
  • बिहिबार, फाल्गुन १ २०८१

काठमाडौँ, फागुन १ – जनएकता राष्ट्रिय अभियान नेपालले आज ३०औं महान् जनयुद्ध दिवसको अवसरमा एक विशेष शुभकामना सन्देश जारी गर्दै सहिद, बेपत्ता योद्धा, घाइते योद्धा र जनयुद्धका सबै योगदानकर्ताप्रति श्रद्धाञ्जली एवं उच्च सम्मान व्यक्त गरेको छ।

जनएकता राष्ट्रिय अभियानले २०५२ साल फागुन १ गते आरम्भ भएको महान् जनयुद्धले नेपाली समाजलाई नयाँ दिशामा उन्मुख गराउँदै शोषण, अन्याय र अत्याचारका विरुद्ध ऐतिहासिक लडाइँको नेतृत्व गरेको स्मरण गराएको छ। अभियानका संयोजक लोकेश विश्वकर्माले जारी गरेको सन्देशमा जनयुद्ध केवल एउटा राजनीतिक आन्दोलन मात्र नभई वैचारिक र सैद्धान्तिक क्रान्तिको महाअभियान भएको उल्लेख छ।

सन्देशमा जनयुद्धले सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी संरचनालाई ध्वस्त पार्दै मुलुकलाई गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणालीमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको भनिएको छ। जनमुक्ति सेना, जनसत्ता, जनकम्युन र जनसहकारी संस्थाहरूको स्थापना जनयुद्धको ऐतिहासिक उपलब्धि भएको अभियानले उल्लेख गरेको छ।

तर, हाल मुलुक साम्राज्यवादी शक्तिको हस्तक्षेप र प्रतिक्रियावादी दलाल शक्तिको दबाबमा परेको प्रति अभियानले गम्भीर चिन्ता व्यक्त गरेको छ। यो अवस्थाबाट मुक्त हुन क्रान्तिकारी धाराको पुनर्जागरण र नयाँ संघर्षको आवश्यकतामा जोड दिइएको छ।

जारी संदेशमा सबै उत्पीडित वर्ग र समुदायका लागि मालेमावादी विचार, संगठन र संघर्षको पुनः विस्तार र सुदृढीकरणको आवश्यकता औँल्याउँदै क्रान्तिकारी मोर्चाबन्दी, ध्रुवीकरण र एकताको मार्गमा अगाडि बढ्न अपिल गरिएको छ। जनएकता राष्ट्रिय अभियानले स्वाधीन, समृद्ध र स्वाभिमानी राष्ट्र निर्माणको लागि दृढ अठोटका साथ अघि बढ्न सबैलाई आह्वान समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार