राजनीति
काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गए राती कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो ।
तीनकुनेमा भएको आन्दोलन भडेकाउन भूमिका खेलेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजपछि प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर पारेको थियो । तर राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक जना पत्रकार र एक प्रदर्शनकारीसहित दुई जनाको मृत्यु भएको थियो । साथै पार्टी कार्यालय, सपिङ कम्प्लेक्स र अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो । सोही क्रममा सीआईबी टोलीले उनलाई काठमाडौं महानगरपालिका– ३२ मा पर्ने कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको थियो ।
तीनकुने घटनामा हिंसा भड्काएको आरोपमा प्रहरीले यस अघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री तथा सांसद धवलशम्शेर राणा र सो दिनको आन्दोलनका जनकमाण्डर तोकिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।