राजनीति
काठमाडौ- पार्टी एकीकरण भएको झन्डै छ महिनापछि नेकपाको पोलिटब्युरो गठन हुने भएको छ। आगामी शुक्रबार बस्ने सचिवालय बैठकले पोलिटब्युरो गठनको निर्णय गर्ने सचिवालयका एक जना सदस्यले जानकारी दिएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भई नेकपा गठन भएको थियो । तर अहिलेसम्म पोलिटब्युरो र तल्ला कमिटी गठन हुन सकेका छैनन् ।
गत कात्तिक ८ गते नेताहरूको कार्य विभाजनको गृहकार्य गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल बनेको थियो। कार्यदलले सबै नेताहरूलाई मान्य हुने गरी पोलिट्व्युरोको मापदण्ड सहित अन्य आवश्यक प्रस्ताव तयार गरेको जनाएको छ । पोलिटब्युरो सदस्य एक सय ४७ रहने गरी कार्यदलले प्रस्ताव तयार गरेको छ । जसमा पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य रहने सहमति भएको स्रोतको दावी छ । एकीकरण हुनुअघि तत्कालीन एमालेको ६३ सदस्यीय पोलिटब्युरो थियो । माओवादीको भने हजारभन्दा बढीको थियो।
अब बन्ने पोलिटब्युरोमा तत्कालीन एमालेका पोलिटब्युरो सदस्यसहित थप १९ ले अवसर पाउनेछन् । तत्कालीन माओवादीबाट भने ठूलो संख्या कटौती गर्नुपर्नेछ।
आगामी बिहीबार बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने भनिए पनि त्यो सम्भावना कम हुँदै गएको स्रोतको भनाई छ । पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने मनस्थितिमा शीर्ष नेताहरु रहेको उक्त स्रोतको भनाई छ ।
कार्यदलले तयार गरेको प्रस्तावमा स्थायी समिति सदस्यहरुलाई केन्द्रीय विभागको इन्चार्ज तोकिने भएको छ। केन्द्रमा ३२ विभाग छन् । त्यस्तै पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्दीय सदस्यलाई सह–इन्चार्ज र क्षेत्रीय इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ।
कार्यदलले जिम्मेवारीका लागि मापदण्डसमेत तयार पारेको छ। पार्टी एकीकरणको भावना बोक्ने गरी, वरिष्ठतालाई समेत ख्याल गरेर जिम्मेवारी दिने प्रस्ताव तयार भएको छ। यसअघि नै ४५ सदस्य स्थायी समिति र ४४१ सदस्य केन्द्रीय सदस्य गठन भइसकेको छ। पार्टीका जिल्ला, प्रदेश र जनवर्गीय संगठन भने अझै एकीकरण हुन सकेका छैनन् ।