राजनीति
काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवम् पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न उच्च अदालतले गरेको आदेश सर्वाेच्च अदालतले सदर गरेको छ ।
उच्च अदालतले आदेशपछि थुनामा रहेका तामाङले आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै सर्वाेच्च अदालतलमा निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्धय डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको हो ।
सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने तल्लो तहको अदालतको आदेशविरुद्ध उनी सर्वोच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी आदेश दिएको हो । उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।
तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी विरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।