logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बालेनलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन ओलीको निर्देशन


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बसेको गणतन्त्र दिवसको मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा मूल समारोह समितिको बैठक बसेको थियो । काठमाडौं महानगरका मेयर समितिको पेदन सदस्य हुन् । तर, मेयर बालेन शाह भने बैठकमा उपस्थित भएनन् । उनी अघिल्लो वर्ष पनि बैठकमा अनुपस्थित थिए ।

बैठकमा मेयर बालेन शाहलाई नदेखेपछि प्रधानमन्त्री ओली रिसाएका थिए । उनले बैठकमा सहभागी नहुनेको नाम हटाउन निर्देशन दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा नाम भने कसैको लिएका थिएनन् ।

“कहिले पनि नआउने नाम राखिरहनु पर्ने । मानका खातिर मानको चलन छोड्दा पनि हुन्छ की क्या हो । कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौं । कहिल्यै देखा पर्देन । कहिले पनि नआउने, नाम सधैं टास्नु पर्ने, कुनै अर्थ छैन् । महत्व नै छैन, अर्थ नै छैन भने सधैं नाम झुण्ड्याइरहने नगरेपनि हुन्छ । आउनुपर्ने नआइदिने बोलाउने सधैं बोलाइराख्नु पर्ने । यस्तो हुँदैन्, अर्काे पल्टसम्म सोधीखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को कति पटक आउँदैन । त्यो रेकर्ड हेरेर, आउने हो की होइन्, सोधेर नआउने भए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने,” ओलीले भने ।

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोल भने सहभागी थिइन् । यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि बैठकमा सहभागी थिए ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

सोमबारको बैठकले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तह तीनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमिति गठन गरिएको छ ।

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार