राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई रिहा गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।
“यसअघि भएको आदेशलाई यथावत छाड्ने, परिवर्तन गर्न नपर्ने आदेश भएको छ,” सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सर्वोच्चले सदर गरेको छ। उनको पनि बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबारै सुनुवाइ थियो।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि र छवि दुवै जना थुनामा रहनेछन् ।