राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता कार्यान्वयनको चिन्ता आफूलाई जति अरुलाई नभएको बताएका छन् ।
भीमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार संघीयता कार्यान्वयनमा चिन्तत नरहेको बताएका हुन् ।
संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र समन्वय आवश्यक रहेको बताएका प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला त्यसका लागि काम गरेको दावी गरे ।
‘संघीयता कार्यान्वयनको चिन्ता मभन्दा बढी कसैलाई छैन भन्ने मेरो दाबी छ । त्यसैले पाँच वर्षदेखि रोकिएको समन्वय परिषद्को बैठक प्रधानमन्त्री भएका बेला बोलाएँ,’ उनले भने ।
संविधानले तोकेको संघीय संरचना कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नहुँदा प्रदेश सरकारहरू अप्ठ्यारोमा परेको उनको भनाइ छ । प्रचण्डले सरकार त्यसप्रति गम्भीर हुनुपर्ने बताउँदै संविधानअनुसार ऐन नबनाइए प्रदेशहरू सफल हुन नसक्ने धारणा राखे ।
‘संविधानअनुसार ऐन नबनाइए प्रदेशहरू सफल हुन सक्दैनन्,’ उनले भने, ‘त्यसैले ऐन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ ।’ संघीयता सुदृढ गर्न कर्मचारी समायोजन, प्रहरी समायोजन ऐन, विद्यालय शिक्षा ऐन लगायतका विषय महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।