राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन् ।
राजसंस्था पुर्नस्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरुको प्रदर्शनस्थल नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थापा पक्राउ पछि सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रदर्शनस्थलमा सम्बोधन गर्दै थपालाई रिहा गर्न माग गरेका हुन् ।
उनले थापालाई रिहा नगरे भोली उपत्यका ठप्प पार्ने चेतावनी समेत दिएका छन् । आफूहरुले शान्तिपूर्ण आन्दोलन गरिहेको र शान्तिपूर्ण आन्दोलनलाई कमजोर नठान्न पनि अध्यक्ष लिङले चेतावनी दिएका छन् ।
उनले भने, “नेपाल सरकार, गृहमन्त्री अथवा कमण्ड गरिरहनु भएका प्रहरी प्रमुखलाई मेरो आग्रह छ । कमल थापालाई हार्दिकता पूर्वक यही ल्याइदिनुस् । होइन भने हामी साथिभाईलाई देशबाट बोलाउँछौ, खास लडाई भोलीबाट सुरु हुन्छ । अब हामी पचास ठाउँबाट आउछौं । कमल थापालाई ससम्मान यही ल्याइदिनुस । होइन भने भोलीबाट काठमाडौं उपत्यका बन्द गर्छाैं ।”
नारायणचौरबाट प्रदर्शन सुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापालाई पक्राउ गरिएको हो । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापना, संघीयता खारेजी लगायतका माग राख्दै राजावादीहरूले जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।