राजनीति
काठमाठौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान चलाइरहेको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को ११ औँ महाधिवेशनलाई सम्बोधन गर्दै आफू नेकपा (एमाले) को झोले नै भएको बताएका थिए ।
“म जनताको झोला बोकेर हिड्ने मान्छे हुँ । जनताका हितहरुको झोला बोक्ने, राष्ट्रको इज्जतको, राष्ट्रका हितहरुको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ । मैले कुनै सामन्तको झोला बोकेको छैन्, इतिहासलाई बङ्ग्याएको छैन् । म नेकपा (एमाले) को झोले हुँ,” सम्बोधनको क्रममा ओलीले भनेका थिए ।
ओलीको उक्त अभिव्यक्तिलाई अहिले नेकपा (एमाले) का नेता, कार्यर्ताहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालसहित एमाले नेताकार्यकर्ताले अहिले सामाजिक सञ्जालमा आफूहरुको फोटामा ‘म झोले हो’ लेखिएको तस्बीर सेयर गरिरहेका छन् ।
ओलीले दुई हात जोडिएको ‘म झोले हो’ सहित ‘देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कैयौं गुणा उत्तम चरित्र हो’ लेखेको तस्बीर सार्वजनिक गर्दै लेखेका छन्, “एउटा सामन्ती परिवारको दास बन्नु भन्दा हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”
ओलीले ‘म झोले हो’ को तस्बिर सार्वजनिक गरेसँगै एमालेका अधिकांश शीर्ष नेतासहित नेता कार्यकर्ता र समर्थकले यस्तै खालको पोस्टर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ‘म झोले हो’ अभियान राजावादीहरुको खण्डनका लागि चलाइएको भन्दै आफूहरुले चलाएको अभियानप्रति संकोच मान्न नहुने तर्क गरेका छन् । ‘… प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून्’ उनले लेखेका छन्, ‘यो दूषित मनशायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच !’
यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने केही वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चलाएको ‘मै भी चौकीदार’ भन्ने तस्बीर र ओलीले ‘म झोले हो’ भनेर चलाएको अभियानको तस्बीर सेयर गर्दै नक्कल गरेको आरोप लगाइरहेका छन् ।