राजनीति
काठमाडौं । सर्वोच्च अदालतले बुधबार पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको ज्यानमुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको छ । प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा सापकोटा विरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ भनेर सूचना निकाल्ने बाहेक आदेश र अरु विवरण सार्वजनिक गरेको छैन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले सापकोटा विरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय खारेज गरेको हो । पति मारिएपछि पूर्णिमाया लामा झण्डै दुई दशकदेखि न्यायको संघर्षमा थिइन् ।