राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो भनेको नबिराउनु र नडराउनु रहेको बताए । उनले आफूले कुनै पनि भ्रष्टाचार नगरेको भन्दै अध्यक्ष नेपालले राजनीतिक प्रतिशोधका रूपमा मुद्दा चलाइएको उल्लेख गरे ।
“न बिराउनु, नडराउनु । मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु, राजनीतिक प्रतिशोधका रूपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे,” उनले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
आरोपत्रमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो दाबी गरिएको छ ।