राजनीति
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेट्न कसैको अनुमति लिनु नपर्ने बताएकी छिन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग कुनै अनुमति लिइरनु पर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारेकी छिन् । एमालेका धेरै नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क भैइरहेकाले भेटघाट भएको भण्डारीको भनाई रहेको छ ।
उनले भनिन्, “मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिइरहनु पर्छ र ? मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आइरहेको छु । चिनजान ठूलै छ । पार्टीका नेता कार्यकर्ताले कार्यक्रममा बोलाउनु स्वभाविक हो । राष्ट्रपति हुनु अघि र संगठित सदस्यता नलिँदा देखि म पार्टीमा सक्रिय थिए । अहिले समाजसँग साक्षत्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु, मेरो कतव्र्य हो । नयाँ पुस्ताका लागि, देशका लागि बाँचुञ्जेल संघर्ष गर्नुपर्छ ।”
एमालेभि आफूले गुटगत राजनीती नगरेको र आफू गुट बनाउने मान्छे पनि नभएको पूर्वराष्ट्रपति भण्डारीको भनाई रहेको छ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा आयोजित कार्यक्रममा सहभागी भएर भण्डारी आज काठमाडौं फर्किदैछिन् ।
दुई पटक मुलुकको राष्ट्रपति भैसकेकी विद्यादेवी भण्डारीले यस अघि नै सक्रिय राजनीतिमा फर्कने स्पष्ट रुपमा बताइसकेकी छिन् ।