राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफूले निरन्तर प्रयास गरिरहेको बताएका छन्।
मङ्गलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गरेको प्रयास रासपका नेताहरूले एकदिन बुझ्ने बताए ।
भिजिट भिसा प्रकरणमा रासोपाईलाई छोडेर आफूले एक्लै सहमति गरेको भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, “म यसमा अहिले पनि रास्वपालाई धेरै प्रश्न गर्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिमसम्म प्रयास गरेको छु । अझै गर्दैछु। रासोपाका साथीहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ।
भिजिट भिसा प्रकरणमा पहिले नेकपा (माओवादी केन्द्र) र रास्वपासहितका प्रतिपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति हुनुपर्ने माग सहित सँगै मिलेर संसद अवरुद्ध गरिरहेका थिए ।
अवरुद्धको केही दिनपछि माओवादी केन्द्रका प्रचण्डले सत्तारुट गठबन्धनसँग दुई बुँदे सहमति गरे । दुई बुँदे सहमतिसँगै माओवादी संसद अवरोधबाट पछि हटिसकेको छ ।
यता रास्वपाका सांसदहरुले भने संसद अवरोधलाई निरन्तर जारी राखेका छन् । प्रमुख प्रतिपक्ष दल माओवादीसँग भएको सहमति अनुसार सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा भिसा प्रकरणमा छानबिन समिति गठन गरेको छ।
सरकारले गठन गरेको छानबिन समिति विश्वसनीय नभएको भन्दै रास्वपा सांसदहरुले भने आज पनि संसद अवरोध निरन्तर जारी राखेका छन् । रास्वपा सभापति लामिछाने भने सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।