राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष रञ्जिाता श्रेष्ठका अनुसार शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । “आज हामी संसदीय दलको बैठक बसेका थियौं । हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,” अध्यक्ष श्रेष्ठले भनिन् ।
नाउपाबाट संस्कृति, पर्यटन एवम् राज्यमन्त्रीमा लक्षमण चौधरी छन् । मन्त्री चौधरीले भोली प्रधानमन्त्री समक्ष राजीनामा दिने श्रेष्ठले बताइन् । “उहाँले पनि भोली राजीनामा दिनुहुन्छ । हामी भोली नै सदनलाई पनि जानकारी गराउँछौं,” अध्यक्ष श्रेष्ठले भनिन् ।
नाउपाबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट बाहिरने बताएको थियो ।
मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेसँगै पार्टी संरक्षक रेशम चौधरीले नाउपा सरकारबाट बाहिरिने जानकारी दिएका थिए । यस अघि जनता समाजवादी पार्टी (जसपा) पनि सरकारबाट बाहिरिसकेको छ ।