राजनीति
काठमाडौं । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए । उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो ।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ । तर, सो घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन् ।
उच्च अदालतबाट सफाई पाएसँगै आलम छुटेपछि उक्त बम काण्डमा घाइते भएका गौरीशंकर भने उक्त घटनाको फेहरीहस्त सुनाउन काठमाडौं आएका छन् । उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता अफताब आलमबाट ज्यानको खतरा रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै न्यायको लागि अपिल गरेका हुन्।mभारतको बिहार, सीतामढी घर भएका चमारले आलमको इँटाभट्टामा काम गर्दा उक्त घटनाको साक्षी बन्न पुगेको बताए।
उनले भने, “आलम छुटेकोमा मलाई दुःख लाग्यो। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो।”
पत्रकार सम्मेलनमा आफ्नो शरीरमा लागेको बमको चोट र पोलेको घाउ देखाउँदै उनले घटनाको विवरण सुनाए। घाइते अवस्थामा केही पर भाग्न सफल गौरीशंकर जिउँदै इँटाभट्टामा झोसिनबाट जोगिएका थिए। बमले उनको दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो।
तर यता उच्च अदालत वीरगन्जको इजलासले भने उक्त नरसंहारको प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता आलमलाई सफाइ दिएको छ।