logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आलमलाई सफाई दिने न्यायाधीशमाथि कालोमोसो दल्ने नेतालाई नेकपा बहुमतको सम्मान


  • राजनीति
  • शनिबार, असार २८ २०८२

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अफ्ताब आलमलाई सफाई दिने न्यायाधीशमाथि कालोमोसो दलेको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) का नेता कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ ।

शनिबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा एक कार्यक्रमको आयोजना गर्दै नेकपा (बहुमत) ले नेताहरू अविनाश कुँवर, पदम मगर र गर्भु महतोलाई विशेष सम्मान तथा अभिनन्दन गरेको हो ।

जिउँदै इटाभट्टमा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय भोगीरहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले सफाइ दिएका थिए । आलमलाई सफाई दिएसँगै न्यायाधीशद्धय थारु र महर्जनको चौतर्फी आलोचना भैरहेको छ ।

त्यसपश्चात् नेकपा (बहुमत) का नेताहरुले न्यायाधीशद्धय थारु र महर्जनलाई कार्यकक्षमै कालोमोसो दलेका थिए । उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । पक्राउ पश्चात् रिहा भए लगत्तै पार्टीले उनीहरुलाई आज सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै कालोमोसो टोलीका सदस्य तथा पार्टी केन्द्रीय समिति सदस्य अभिनाश कुँवरले २४ दिने हिरासत तथा ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताए । उनले आफूहरुको बन्द पर्खालको बसाई उत्साहपूर्वक रहेको भन्दै जनताको लागि कालोमोसो मात्रै नभएर अपराधिहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार रहेको बताए ।

पार्टीका स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ ले गरिब तथा निमुखा जनताको न्यायका लागि जोखिम उठाएर हिम्मत गरेकाले उनीहरुलाई सम्मान गरिएको बताए । पछिल्लो समय राज्यका तीनवटै अङ्गमा भ्रष्टाचार चरमचुलीमा पुगेका हुनाले नेकपा (बहुमत) ले त्यसकाविरुद्ध अभियान चलाएको उनले जानकारी दिए ।

रिहाई भएका नेताहरुलाई नेकपा (बहुमत) ले गरेको सम्मान कार्यक्रममा नेताकार्यकर्ताका, सामाजिक अभियान्ता तारा बरालसहित सर्वसाधारण समेत सहभागीता रहेको थियो ।

ज्यान मुद्धाको कसुरमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले यही जेठ १४ गते सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई सफाइ दिएको हो। त्यही दिन उनी नक्खु कारागारबाट रिहा समेत भएका थिए।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार