राजनीति
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राखेर माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
अखिल (क्रान्तिकारी) ले निःशुल्क सम्मान र वैज्ञानिक शिक्षासहितको जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै आज काठमाडौको माइती घरमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो।
प्रदर्शनमा सहभागी हुन माइतीघरमा उपस्थित भएका अखिल (क्रान्तिकारी) का नेता कार्यकर्तालाई बिहान १० बजेदेखि नै प्रहरीले समातेर भ्यानमा कोचेको थियो। प्रहरीले अखिल (क्रान्तिकारीका उपाध्यक्ष रुपा बुढामगरसहित १० जनालाई पक्राउ गरेको केन्द्रीय सदस्य छत्र विकले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा उपाध्यक्ष बुढामगरसहित केन्द्रीय सदस्यहरु बजिर सिंह नेपाली, सर्जन पाण्डे, लक्ष्मि शाह, आयुश घिमिरे, सक्षम विश्वकर्मा, समीर विक, सुप्रिया नेपाली, सन्जु राई, पदम हमाल लगायत रहेका छन् ।
भ्यानमा हालिएका आफ्ना नेता कार्यकर्तालाई छुटाउन अन्य नेताहरुले प्रयास गरेपछि प्रहरी र अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएको थियो।
पूर्व निर्धारित कार्यक्रमअनुसार अखिल (क्रान्तिकारी) ले माइतीभर घरबाट प्रदर्शन सुरु गरेर नयाँ बानेश्वर पुग्ने तयारी गरेको थियो। तर सुरुमै नेता कार्यकर्ताहरुलाई प्रहरीले जबरजस्ती रुपमा समातेर भ्यानमा कोचेपछि अन्य नेता कार्यकर्ताहरुले प्रहरी प्रशासनसहित सरकारविरुद्ध नारा लगाएका थिए ।