राजनीति
काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्की नफर्किएकाहरू बारे अनुसन्धान गर्न आइजीपी दीपक थापालाई निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा गृहमन्त्रालयका सचिव गोकर्णमणि र आइजीपी थापासँगको बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण जाँदा भिजिट भिसाको प्रयोग गरेर गएकाहरूमाथि अनुसन्धान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री लेखकको सचिवालयका अनुसार स्पेन भ्रमणमा सरकारी प्रतिनिधि टोली बाहेकका गएको विषय के हो ? कुन संस्थामार्फत ? कसरी गए ? भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्यो ? कसको समन्वयमा गए ? भन्ने विषयमा अनुसन्धान गर्न गृहमन्त्री निर्देशन दिइएको हो।
यस प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनको भ्रमणमा उनीसँगै गएका केही व्यक्तिहरु स्पेनबाट नफर्किएको भनेर समाचार प्रकाशन भएपछि प्रतिनिधि सभा संसदमा समेत कुरा उठेको थियो ।
स्पेन भ्रमण गएका बेला १० जना नफर्किएको सार्वजनिक भएसँगै प्रधानमन्त्री ओलीलाई सहित कारबाहीको माग गरेर अख्तियारमा समेत उजुरी परेको छ भने अहिले सामाजिक सञ्जालमा चौतर्फी विरोध भैरहेको छ ।