logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

सक्रिय राजनीतिमा अघि बढिसके, खुट्टा कमाउँदिन : विद्या भण्डारी


  • राजनीति
  • मंगलबार, साउन ७ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक रुपमा सक्रिय रूपमा अघि बढिसकेकाले खुट्टा नकमाउने बताएकी छन्।

मङ्गलबार दिउँसो भंगालस्थित निवासमा पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफू माझँ किँरातीकी छोरी भएको र राजनीतिमा अघि बढिसकेकाले खुट्टा नकमाउने बताइन् ।

नेकपा (एमाले) को जारी केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्केको विषयमा छलफल भइरहेकै समयमा भण्डारीले आज भंगालस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।

पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, “म माझ किराँतीकी छोरी हुँ। राजनीतिमा अघि बढिसके । खुट्टा कमाउँदिन ।” पार्टीभित्र नेतृत्वले आतंक सिर्जना गरेको बताउँदै नेतृत्वकै तहबाट गुटबन्दीको सुरुवात भएको छ।

राजनीतिमा अहिले नैतिकताको कुराका सन्दर्भमा पनि भण्डारी चनाखो देखिन्थिन् ।

“नैतिकताको कुरा बढी हुन्छ, अहिले कुरा पनि भइरहेको छ,” भण्डारीको टिप्पणी थियो, “उच्च ओहदामा पुगेका मान्छे पार्टीमा आउँदा पार्टीको नैतिकता बढ्छ ।”

कुराकानीका क्रममा भण्डारी पटक–पटक ओलीसँग आक्रोशित देखिन्थिन् ।

“उहाँ (केपी ओली) लाई पार्टीभित्र नेतृत्व गर्ने मबाहेक कोही छैन, म नै जान्ने हुँ । अरु केटाकेटी हुन् भन्ने परेको छ,” भण्डारीको भनाइ थियो, “उहाँले पार्टीभित्र अर्को नेतृत्व देख्नुभएको छैन ।”

मदन भण्डारीको हीरक जयन्ती मूल समारोह समिति बनाउने विषयमा पनि ओलीसँग छलफल हुँदा नेताहरु तोक्न नमानेको टिप्पणी गरिन् । भण्डारीले ओलीसँग उपाध्यक्षमध्ये एकजनाको नेतृत्वमा मूल समारोह समिति बनाइदिन अनुरोध गरेकी थिइन् ।

तर ओली तयार भएनन् । ओलीले ‘सबै उपाध्यक्षहरु कममा रहेको’ जवाफ दिए । जनसंगठनका प्रमुखको नेतृत्वमा बनाऔँ न त भन्ने भण्डारीको प्रस्तावमा पनि ओलीको जवाफ त्यस्तै थियो । जब पोलिटब्युरो बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा छ’ भने त्यसपछि ओलीलाई फोन गरिन् ।

“सदस्यता पनि पेन्डिङमा हुन्छ ?,” भण्डारीले ओलीलाई यसरी सोधेकी थिइन् ।

ओलीको जवाफ थियो– राजनीतिक निर्णय गर्नुपर्छ । त्यसपछि मात्रै भेटेर कुरा गर्ने विषयमा छलफल भएको थियो । भण्डारीकै अनुरोधमा बालुवाटारमा नभइ च्यासलमा भेटको तयारी गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार