राजनीति
काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ६ छेप्पान नजिक भण्डास बिप्पर कटेरीमा रहेका उर्मिला हायु सहितको १६ जनाको परिवार सम्पर्कविहीन बनेको छ।
एकान्तमा रहेको घरमा शनिबार प्रहरीसहितको टोली पुग्दा घरमा कोही मानिस पनि भेटिएको छैन। स्थानीयले प्रहरीलाई बताए अनुसार चार दिनअघि सुँगुर काटेर खाएर भोज खाएपछि हायु परिवार सम्पर्कविहिन बनेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटको टोली र वडा अध्यक्ष रविन श्रेष्ठ सहितको टोलीले घरमै गएर खोजतलास गर्दा कोही नभेटिएको जानकारी दिइएको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार भान्सा जलेको अवस्थामा तथा भाडाकुडाहरू अस्तव्यस्त भेटिएका थिए भने खोरमा बाख्रा रहेका पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेको भेटिएका थिए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका आयु परिवारको खोजीकार्य जारी भएको जनाएका छन्। आयु परिवारको फोनको लोकेसन अन्तिम समयमा रामेछापको मन्थलीमा देखिएको जनाइएको छ। उनीहरू कतै घुम्न गएका हुन् कि भन्ने आशंका पनि गरिएको तर स्थलगत रूपमा कोही पनि नभेटिएको बताइएको छ ।
सम्पर्कविहिन भएका एकै परिवारका आयु परिवारका १६ जनाको पहिचान समेत खुलेको छ। बेपत्ता हुनेहरूमा एकवर्षीय अर्जुन हायुदेखि ५२ वर्षीया उर्मिला आयुसम्म रहेका छन्।
परिवारले यही साउन ६ गते सिमान्तकृत सामाजिक सुरक्षा भत्ता हिमालयन बैंक खुर्कोट शाखाबाट झिकेका थिए भने ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको समेत खुलेको जनाइएको छ।