राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी गम्भीर संकटबाट गुर्जिरहेकोले यसलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस जारी गर्दै उपमहासचिव शर्माले विगत दुई वर्षदेखि पार्टी फुट्छ भनेर नेतृत्व तहबाटै हल्ला चलाइएको आरोप लगाएका छन् । शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै पार्टी फुटबारे हल्ला चलाएको आरोप लगाएका हुन् ।
केही दिन अघि पनि सार्वजनिक कार्यक्रममा शर्माले पार्टीमा समस्या रहेको भन्दै पार्टी नेतृत्व लक्षित अभिव्यक्ति दिएका थिए भने अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रम मार्फत् नै जवाफ दिएका थिए । सार्वजनिक कार्यक्रममा नेताहरुबीच सवाल सवाफ जस्तो चलिरहेको समयमा शर्माले आज सामाजिक सञ्जाल मार्फत नै पार्टी गम्भीर संकटबाट गुर्जिरहेको दाबी गरेका हुन् ।
गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय भएको असारदेखि प्रारम्भ गरेर छ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्न निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्नेमा शर्माले जोड दिएका छन् ।
यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेकाले यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन नै भएको शर्माको दाबी छ ।
“अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ। देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुबाट राष्ट्रलाई एकताबद्ध गर्नेछ,” शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।
विशेष महाधिबेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि बिहिनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने महासचिव शर्माको भनाई रहेको छ ।