logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका कोइराला विराटनगरबाट पक्राउ


  • राजनीति
  • बुधबार, साउन २२ २०८२

विराटनगर । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला विराटनगरबाट पक्राउ परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मंगलबार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर संकलन अभियान चलाएको थियो ।

हस्ताक्षर अभियान सकेर टोली कोणसभाका लागि मोटरसाइकलमा महेन्द्र चोक पुग्यो । महेन्द्र चोकमा पनि कोणसभाअघि हस्ताक्षर संकलन गरिएको थियो । लामिछानेको पक्षमा हस्ताक्षर गर्न भनेर कोइराला त्यहाँ पुगेका थिए । अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

‘लामिछानेको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका बेला कोइरालालाई पक्राउ गरिएको हो,’ मोरङ प्रहरी स्रोतले भन्यो, ‘त्यसलगत्तै सुनसरी प्रहरीको जिम्मा लगाइएको छ ।’ कोइरालालाई जिल्ला अदालत सुनसरीले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो ।

बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो ।

कोइरालाले सजाय भुक्तान भने गरेका थिएनन् । यद्यपि, जिल्ला अदालतले उनलाई आफूविरुद्धको फैसलामा पुनरावेदन गर्ने बाटो भने खुला राखेको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएका कोइरालालाई बुधबार अदालतमा बुझाउने तयारी रहेको जानकारी डीएसपी खतिवडाले दिए ।

अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनामा उनलाई अदालतले असार ३२ गते दोषी ठहर गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार