logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला जारी, काठमाडौंमा शुक्रबारदेखि सञ्चालन हुने


  • राजनीति
  • बिहिबार, भाद्र १९ २०८२

पोखरा । पोखरामा जारी अन्तर्राष्ट्रिय आईटी कार्यशालामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको छ। कार्यशालाको पहिलो दिन हिजो दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका छन् भने दोस्रो दिन आज त्यो संख्याभन्दा अझ बढी विद्यार्थीको उपस्थिति रहेको आयोजक दिप आइटी एण्ड एजुकेशनले जानकारी दिएको छ।

दुई दिनसम्म चल्ने यो कार्यशालामा विद्यार्थीहरूले सूचना प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा चासो र माग बढिरहेको विषयहरूबारे प्रत्यक्ष प्रशिक्षण प्राप्त गरिरहेका छन्। कार्यशालाको पहिलो दिनमा सहभागी विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI), भर्चुअल रियालिटी (VR) र अग्मेन्टेड रियालिटी (AR) जस्ता अत्याधुनिक प्रविधिहरूको बारेमा इन्डिया देखि आएका माइक्रोसफ्ट सर्टिफाई प्रशिक्षक द्वारा विस्तृत रुपमा सिकाइएको थियो। यसबाहेक, कार्यक्रम संयोजक तथा दिप आइटी एण्ड एजुकेशनका निर्देशक दिनेश लामिछानेले विद्यार्थीहरूले नयाँ अनुभव र ज्ञान हासिल गरेको बताएका छन्।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य पनि भएको छ। माईक्रोसफ्टको सहकार्यमा सञ्चालित अजेङ्क्या डीवाई पाटिल युनिभर्सिटीका दुई स्नातक डिग्री कार्यक्रमहरूको बारेमा विद्यार्थीहरूलाई परामर्श प्रदान गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले नेपालमै बस्दा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर प्राप्त गर्ने सम्भावनाबारे जानकारी पाएका छन्।

आगामी दिनमा काठमाडौंमा पनि यही कार्यशाला सञ्चालन हुने भएको छ। आयोजकले काठमाडौंको दियो महलमा यही भाद्र २० र २१ गते दुई दिनसम्म कार्यक्रम आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा पनि पोखरामा झैँ ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक लामिछानेका अनुसार यस्तो कार्यशालाले विद्यार्थीहरूलाई विश्वव्यापी रोजगार बजारसँग प्रतिस्पर्धा गर्न आवश्यक सीप र जानकारी प्रदान गर्नेछ। उनले भने, “आजका विद्यार्थीहरू प्राविधिक क्षेत्रमा छिटो बदलिँदो प्रविधिसँग अपडेट रहनुपर्छ। यस किसिमका कार्यक्रमहरूले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

विद्यार्थीहरूले समेत कार्यशालाप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। उनीहरूले यसलाई आफ्नो शैक्षिक र व्यावसायिक यात्रामा मार्गदर्शन गर्ने सुनौलो अवसरका रुपमा लिएका छन्। पोखरामा सुरु भएको यो कार्यक्रम काठमाडौंमा निरन्तरता पाउने भएकाले राजधानीका विद्यार्थीहरू पनि प्रविधिको नयाँ आयामसँग परिचित हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार